
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताउनुभएको छ ।
विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट गर्नुभयो ।
वातावरण संरक्षण र प्रकृतिप्रति सजग एवं जिम्मेवार हुने शिक्षा विद्यालय तहदेखि नै समावेश गरिने बताउँदै प्रधानमन्त्री ओलीले सुरक्षित र सभ्य मानवजाति, सुरक्षित विश्व, बस्नलायक, न्यायपूर्ण र समृद्ध धर्ती तथा सुखी मानवजातिका लागि काम गरिने छ भन्नुभयो ।
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमणपछिको अवस्थाले सबैलाई मानव जाति र समाजको सम्बन्धलाई देशको सीमाभन्दा माथिबाट बुझ्न र एकअर्काको भविष्य कति अन्तरसम्बन्धित छ भन्ने सन्देशसहित सामूहिक मानवतावादी नयाँ विश्व व्यवस्थातर्फ जानुपर्ने कुरालाई झकझक्याएको बताउनुभयो ।
प्राकृतिक विपत्तिको सामना गर्ने काममा लाग्न सम्पूर्ण तह र तप्कालाई आग्रह गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण र सामना गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थासँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त दिवसको यस वर्षको मूल नारा ‘विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन, सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ छ । उक्त अवसरमा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ ले पैदा गरेको विपद् जोखिम न्यूनीकरणका निमित्त सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमका प्रतिनिधि रिचर्ड हावर्डले जलवायु परिवर्तनको असर र विपद्सम्बन्धी घटनाबाट हरेक वर्ष ठूलो जनधन गुमाउनु परेकाले स्थानीय जनताको सहभागितामा यस्ता घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नेपालमा हरेक वर्ष बाढी÷पहिरो, चट्याङ, आगलागी, शीतलहर जस्ता प्राकृतिक प्रकोप र विपद्का घटनाबाट ठूलो जनधजनको क्षति हँुदै आएको छ । विपद् जोखिमका हिसाबले नेपाल उच्च जोखिमयुक्त मुलुकको सूचीमा छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया