
काठमाडौं । नेपाली कांग्रेसका १७ असोजमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधपत्रबारे जवाफ दिएपछि महामन्त्री पूर्णबहादुर खड्काले भनेका थिए-केही विषयमा उपसभापति विमलेन्द्र निधिले जवाफ दिनु हुनेछ ।
निधिले अन्य दलबाट कांग्रेस प्रवेश गरेकाहरूलाई वितरण गरेको क्रियाशील सदस्यताबारे जवाफ दिन नपाउँदै अर्जुनरसिंह केसी, गगन थापा लगायतका केही नेतालाई कोरोना संक्रमण भएको रिपोर्ट आएपछि पूर्व निर्धारित केन्द्रीय समितिको बैठक बिथोलियो ।
पार्टी कार्यालय सानेपामा १९ र २५ असोजका लागि तोकिएको केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेन । दसैं लगतै पार्टी सभापति शेरबहादुर देउवाले २१ कात्तिकका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । त्यसको पूर्वसंध्यामा फेरि पौडेल र संस्थापन समूहका केही नेताहरूबीच सोमबार छलफल हुँदैछ । पौडेल समूहले भोलिको छलफलमा आफूहरूले उठाएका १६ बुँदेको प्रष्ट जवाफ चाहेको देखिन्छ ।
पौडेल समूहका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी भन्छन्, ‘हामीले विधान विपरित भएका गतिविधि सच्याउन माग गर्दै आएका छौं । त्यसमा संस्थापन पक्षको प्रष्ट धारणा आउनुपर्छ ।
पौडेल समूहकै अर्का नेता डा. मिनेन्द्र रिजाल पनि पार्टी सभापतिले आफ्नो पक्षले चित्त बुझ्दो जवाफ पाउनुपर्ने बताउँछन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया