
काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताएकी छिन् ।
शुक्रबार सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको बताएकी छिन् । उनले अहिले उत्पादनको समस्या नरहेको भन्दै उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको बताएकी हुन् ।
सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको विक्री तिनै विक्री केन्द्रबाट सुनिस्चित गरिने उनले बताईन् । यस्तै किसानहरुले उत्पादन गरेका वस्तु विक्री गर्न सहकारीहरुले आफै बजारको स्थापना गर्नुपर्नेमा उनको जोड छ ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको शुक्रबार उद्घाटन गरिएको हो ।सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादिको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ्य खाद्य वस्तु उपभोग गर्ने वातावारण निर्माण गरिने मन्त्री अर्यालले बताईन् ।
पहिलोपटक सरकारी र सहकारी साझेदारीमा काठमाडौँ महानगरपालिका–६ चाबहिलस्थित सरस्वतीनगरमा केन्द्रीय सहकारी बजारको शुरुआत भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडिपीको सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडले करिब रु सवा करोडको लागतमा बजार सञ्चालनमा ल्याएको हो ।
सन् २०१८ फेबु्रअरीमा शुरु भएको सहकारी बजार विकास कार्यक्रम सिएमडीपीले चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट र धादिङ गरी छ जिल्लाका १८ स्थानीय तहमा काम शुरु गरेपछि आज राजधानीमा पहिलो बजार सञ्चालनमा ल्याएको हो । बजारमा थोक तथा खुद्रा दुवै व्यापार गरिने छ ।
नेपाल सरकार र युएनडिपीको सहकार्यमा बाग्मती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालित गरिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया