चिनियाँ टोलीले भन्यो-नेपालका सबै राजनीतिक दलसँग चीनको असल सम्बन्ध छ

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ ।

मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानिलकण्ठमा पुगेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको टोलीसँग दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे छलफल भएको देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेशकुमार भट्टराईले जानकारी दिए ।

भेटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले कांग्रेस चीनको असल मित्र रहेको बताएको भट्टराईले जानकारी दिए । त्यस्तै उक्त टोलीलाई सभापति देउवाले सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुग्न लागेकोमा बधाई दिनुभएको उनले बताए ।

जवाफमा कुओले धन्यवाद दिँदै अर्को वर्ष चीनले भव्य कार्यक्रम गर्न लागेको र त्यसमा देउवालाई पनि सामेल हुन निम्तो दिएको भट्टराईले जानकारी दिए ।

त्यस्तै कुओले नेपालका सबै राजनीतिक दलसँग चीनको असल सम्बन्ध रहेको बताएको र बीपी कोइरालाको सरकारदेखि नै कांग्रेससँग चीनको असल सम्बन्ध रहेको र त्यो अहिले पनि उस्तै रहेको बताएका उनको भनाई छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भने आफूहरुले केही नसोधेको र उनीहरुबाट पनि केही जानकारी नआएको पनि उनले बताए ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँदै गएपछि चिनियाँ टोली स्थलगत अवस्था बुझ्न नेपाल आएको हो । उक्त टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसँग भेटवार्ता गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया