
काठमाडौँ । ५ वर्षअघिको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनःनिर्माण गरिएको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा रहनेगरी हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरूप कार्यकक्ष तथा बैठक कक्ष निर्माण गरिएको छ”, उहाँले भन्नुभयो ।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भबन पुनःनिर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडा विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको थियो । भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ ।
पुनःनिर्माणमा हालसम्म मूल्य अभिवृद्धि करबाहेक रु ८७ करोड खर्च भएको छ । उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीजस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको हो भने शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको हो ।
आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी प्रबलीकरण भइरहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया