राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै

काठमाडौं । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा(बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् । यी दुवै नेकपा एमालेका भएकाले निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ ।बादललाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् । संघीयताविज्ञ देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको समर्थन छ ।

कसले भोट हाल्न पाउँछ रु

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको परिणाम आजै आउन सक्ने बताए। ‘कुनै प्राविधिक समस्या आएन भने मतपरिणाम आजै आउँछ’, उनले भने ।उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । वागमती प्रदेशसभा सदस्य ११० जना छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । यसरी जम्मा मतदाता ३४८ रहेकाले गणना गर्न धेरै समय नलाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मकवानपुरको हेटौंडास्थित भुटनदेवी मावि निर्वाचन केन्द्रमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।भोट खसाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् ।यस्तै कोरोनाभाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको छ ।यसैगरी राष्ट्रियसभामा रिक्त अर्को एक पदका लागि लुम्बिनी प्रदेशमा यही जेठ १७ गते उपनिर्वाचन हुँदैछ । त्यहाँ नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी–५ का चन्द्रबहादुर खड्का र दृगनारायण पाण्डे प्रतिस्पर्धामा छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया