काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस प्रचण्ड पथमा लागेकोमा आफूलाई आश्चर्य लागेको बताएका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले कांग्रेस प्रचण्डसँग लागेर अरु दल फुटाएर प्रधानमन्त्रीको दाबी गर्न जानु गलत भएको बताए ।
उनले भने, ‘कीर्ते नाम लिएर, अरु पार्टी फुटाएर प्रधनमन्त्री हुन जाने ? एउटा मात्र होइन, एमालेका केही तत्वलाई उकासेर केहीलाई सही गराएर र केहीको कीर्ते गराएर प्रधानमन्त्री बन्न खोज्ने ?’ उनले कांग्रेस र माओवादीले सरकार चलाउन, काम गर्न नदिने अनि जनतामा भ्रम फिजाउने प्रयास गरिरहेको आरोप लगाए ।
उनले आफू जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरसहित १५३ जनाको समर्थनसहित धारा ७६(५) अनुसार सरकारको विकल्प दिन गएको बताए ।
उनले वैकल्पिक सरकार बन्न नदिन विपक्षीहरुले दुषित अभ्यास गरेकोले राष्ट्रपतिमा दुविधा भएको र दुबै दाबी राष्ट्रपतिलाई मान्य नभएको बताए । दलिय व्यवस्थामा व्यक्तिको कुनै महत्व नहुने बताए । उनले दलिय प्रणालीमा १२१ को प्रतिनिधित्व गर्ने भन्दै आफूले प्रधानमन्त्रीलाई सही दाबी गरेको बताए । उनले विपक्षीहरु मुद्दा दर्ता गर्न जान लागेपनि राष्ट्रपतिको स्वविवेकीय अधिकारको विषयमा मुद्दा नलाग्ने बताए ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले फेरि पनि रोग सर्न नपाओस्, सरेपनि मर्न नपरोस् भन्नका लागि सरकारले ध्यान केन्द्रित गरेको बताए । उनले खोपका लागि भारत, अमेरिका, बेलायत लगायत देशसँग कुराकानी भइरहेको जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्रीले विश्व वैंक, राष्ट्रसंघ र विकास साझेदारसँग कुरा भइरहेको बताए । अक्सिजन र सिलिण्डरको समस्या समाधान भएको भन्दै प्रधानमन्त्रीले भेन्टिलेरको पनि अहिले समस्या नभएको बताए ।
उनले बाहिर हल्ला चलाइएको जस्तो सरकार चुप लागेर नबसेको बताए । उनले केही संचारमाध्यमले सरकारका उपलब्धिको चर्चा नगरेको गुनासो गर्दै बनावटी कमजोरीको कुरा गर्ने मार्मिक कहानी बनाउने काम बन्द गर्न आग्रह गरे ।
फेसबुकबाट तपाइको प्रतिक्रिया