वामदेवको प्रश्नः राजेन्द्र महतोको अभिव्यक्तिप्रति प्रधानमन्त्री किन मौन ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा आफू अत्यन्त दुखी भएको बताएका छन् ।

शनिबार उपाध्यक्ष गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने बताएका हुन् । उनले प्रधानमन्त्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको बतएका छन् ।

यस्तो छ गौतमको धारणा

नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषतासहितको राष्ट्र हो ।

त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।

फेसबुकबाट तपाइको प्रतिक्रिया