हस्ताक्षर फिर्ता लिन ओली पक्षका नेताहरुद्वारा नेता नेपाललाई आग्रह,फिर्ता नलिने नेपालको अडान

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।

आइतबार बिहान नेता नेपाल भेट्न ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए। उनीहरुले नेता नेपाललाई भेटेर हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।

तर वरिष्ठ नेता नेपालले अदालती प्रक्रियामा गइसकेकाले हस्ताक्षर फिर्ता नहुने जवाफ दिएका छन् । भेटमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि सहभागी थिए ।

भेटमा सहभागी एक नेताका अनुसार नेता नेपालले हस्ताक्षर फिर्ता नहुने बरु पार्टी एकताका लागि कार्यदललाई अघि बढाउन आग्रह गरेका थिए । एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने अडान राख्दै आएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया