पार्टीभित्रका समस्याका विषयमा एमालेको कार्यदलमा मंगलबारदेखि छलफल हुने

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ बसेको हो । सोमबार साँझ भएको वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् ।

विवाद समाधानका लागि बैठक निरन्तर बस्ने सहमति भएको उपाध्यक्ष डा. भीम रावलले जानकारी दिए । उनले पार्टीभित्रका समस्याका विषयमा मंगलबारदेखि छलफलले प्रवेश पाउने बताए ।

उनले भने,‘कार्यदलको बैठक नियमित अगाडि बढाउने निर्णय गर्यौं । आज कुनै विषयबस्तुमा प्रवेश गरेनौं । तर, हाम्रा आन्तरिक समस्या गम्भीर रुपमा विश्लेषण गरेर सम्भवतः भोलि बस्ने बैठकबाट छलफल अगाडि बढाउँछौं।’

अघिल्लो महिना अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको वार्तापछि कार्यदल गठन गर्ने सहमति भएको थियो र कार्यदलले विभिन्न चरणमा छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

कार्यदलमा ओली पक्षबाट संयोजक सुवास नेम्वाङ तथा सदस्यहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट संयोजक भीम रावल तथा सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण विष्ट छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया