
काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य एवं कृयाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणको निन्दा गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी कृयाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने बताएका हुन् ।
महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको उनले जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त छोटो समय र कोभिड महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेकोे कृयाशील सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको बिषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च सह्राना गरेको छ । समितिको कार्यलाई सघाउनु पार्टीका हरेक तहको नेतृत्व र सदस्यको जिम्मेवारी रहेकोे सबैलाई स्पष्ट नै छ । सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य छ ।’
फेसबुकबाट तपाइको प्रतिक्रिया