
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै जिम्मेवारी बाँडफाँट गरिएको उल्लेख छ ।
यससँगै एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो पनि गठन गरेको छ । स्थायी कमिटीमा ४२ सदस्य र पोलिटब्यूरोमा ९४ सदस्य छन् । एकीकृत समाजवादीको आन्तरपार्टी निर्देशन–२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेता सहित विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै, एकीकृत समाजवादी छाडेको घोषणा गरेका प्रदीप नेपाललाई प्रतिष्ठान इन्चार्जको जिम्मेवारी दिइएको छ ।
नेकपा एसले तीन महिने संगठन विस्तार अभियान थालेको छ । सो पार्टीले आगामी तीन महिनाभित्र सवै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।
पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिँदै यसअघि १३५ सदस्यीय केन्द्रीय कमिटी रहेको एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएसँगै ३ सय ३५ सदस्यीय बनेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया