
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।
आचार्यले राजीनामा दिएपछि प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै उनले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । उनलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ ।
प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ । आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि मंगलबार शपथग्रहण गराइने भएको छ । मंगलबार सानो आकारको मन्त्रीमण्डल बनाउने गठबन्धनको तयारी छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया