
विराटनगर । प्रदेश १ सरकारले अघिल्ला सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश कार्यक्रम थपघट गर्ने गरी बजेट पुनरावलोकन गर्ने गृहकार्य सुरु गरेको छ । पाँच दलीय गठबन्धनको सरकारले मङ्सिर महिनाभित्र बजेटमा समावेश कार्यक्रम थपघट गरी आगामी पुस महिनाबाट कार्यान्वयनमा लैजाने गरी बजेट पुनरावलोकन गर्न लागेको हो ।
शेरधन राई नेतृत्वको सरकारले ल्याएको बजेट अनुत्पादक क्षेत्रमा विनियोजन भएको बताउँदै त्यस्ता कार्यक्रम खारेज गरी नयाँ कार्यक्रम थपघट गर्ने प्रदेश सरकारको तयारी छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट पुनरावलोकनका लागि सम्बन्धित मन्त्रालयहरूसँग छलफलसमेत अघि बढाएको छ ।
छलफल पश्चात् बजेटमा समावेश अनुत्पादक क्षेत्रमा विनियोजन भएका कार्यक्रम अध्ययन गरी खारेज गर्ने सरकारले तयारी गरेको छ । खारेज गरिएका कार्यक्रम पश्चात् स्रोत व्यवस्थापनको आधारमा सरकारले नयाँ कार्यक्रम पनि समावेश गर्न लागेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बो अघिल्लो सरकारले बजेटमा समावेश धेरै कार्यक्रमहरू अनुत्पादक क्षेत्रमा विनियोजन भएको, व्यक्तिगत स्वार्थ केन्द्रित भएको, निर्वाचन लक्षित, बिचौलिया र कार्यकर्ता केन्द्रित हुने कार्यक्रम समावेश गरिएकाले ती र त्यस्ता कार्यक्रम तथा योजनाहरू कटौती गर्ने गरी बजेट पुनरावलोकन गर्न लागिएको बताउँछन् ।
उनले अघिल्लो सरकारले अगाडि सारेका राम्रा योजनालाई भने निरन्तरता दिने बताए । मन्त्री आङ्म्बोले बजेटमा समावेश फजुल र शीर्षकविहीन खर्चका सबै कार्यक्रम खारेज गरी शिक्षा र स्वास्थ्यका साथै पूर्वधारका कार्यक्रममा बजेट समावेश गर्ने तयारी रहेको जानकारी दिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया