गुल्मी । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित थापाले नेकपा एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५६४ मत अन्तरले हराएका छन् । थापाले ६ हजार १६६ र भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।
यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी तारा थापाले एमाले उम्मेदवार सुशिला पुनलाई ५९९ मत अन्तरले हराइन् । ताराले ६ हजार १८८ मत पाउँदा सुशिलाले ५ हजार ५८९ मत पाइन् ।
गुल्मी दरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडानम्बर १ मा राजेन्द्र कंडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट वडानम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधी पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुल्मी दरबार गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस नै विजयी भएको थियो ।
यसपटकको निर्वाचनमा गुल्मीको रेसुंगा नगरपालिका पनि नेपाली कांग्रेसले जितेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया