झलनाथले छोडे पार्टी अध्यक्षको दाबी, घनश्यामलाई समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् ।

यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् ।

‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि बढ्नुहुन्छ । उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ’, छलफलमा सहभागी नेता नरेश शाहीले भने ।

सहमति अनुसार आगामी १६ असारदेखि काठमाडौंमा सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भूसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन् । ‘उहाँहरु दुवैले अध्यक्षको दाबी गरिरहँदा केही अप्ठ्यारो परिस्थिति बनेको थियो । अन्ततः झलनाथ खनालको उत्तराधिकारीका रुपमा घनश्याम भूसाल अगाडि बढ्ने सहमति भएको छ’, खनाल निकट स्रोतले भन्यो ।

ती स्रोतका अनुसार भूसालले पनि खनाललाई आफू उत्तराधिकारीका रुपमा अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् । तत्कालीन एमाले र २०७८ भदौमा बनेको एकीकृत समाजवादीभित्र खनाल र भूसालबीच निकटको सम्बन्ध थियो । तर एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा खनाल र भूसाल दुवैले अध्यक्षको दाबी गरेका थिए । दुवै नेताका पार्टीभित्र धेरै मानिस साझा थिए । त्यसैले खनाल र भूसाललाई मिल्न दबाब थियो ।

तर अध्यक्ष माधवकुमार नेपालले भने फेरि पनि नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन् । अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका छन् । महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया