
विराटनगर । प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ, जसमा ७४ वटामा पाँच दलको गठबन्धन थियो । तीमध्ये पालिकामध्ये ५४ प्रतिशत अर्थात् ४० पालिकामा गठबन्धन असफल बनेको छ । ४६ प्रतिशत अर्थात् ३४ पालिकामा मात्रै गठबन्धन सफल बनेको देखिएको छ ।
तथ्याङ्क अनुसार ४३ पालिकामा दलहरु एकल प्रतिस्पर्धामा थिए । त्यसमध्ये कतिपय पालिकामा काँग्रेस–एमाले, माओवादी–जसपा र नेकपा एकीकृत समाजवादी र माओवादीमात्रै पनि गठबन्धन भएको थियो । तथ्याङ्कमा उल्लेख गरिएका ७४ पालिकामा भने काँग्रेस–माओवादीसहितको गठबन्धन थियो, जुन गठबन्धन सफल भएको देखिएन ।
गठबन्धन गरेका आधाभन्दा धेरै पालिकामा नतिजा सुखद नदेखिनु गठबन्धन दलका लागि सोचनीय विषय हो । माओवादी केन्द्रले गठबन्धनबाट प्रमुख तथा अध्यक्षमा १७ र एकल प्रतिस्पर्धाबाट ३८ उम्मेदवारी दिएको थियो । यस्तै, गठबन्धनबाट माओवादीले उपप्रमुखमा ५३ र एकल ३७ वटामा उम्मेदवारी दिएको थियो ।
तथ्याङ्क अनुसार भोजपुरको एक पालिकामा गठबन्धन सफल हुँदा पाँच पालिकामा गठबन्धन असफल बनेको छ । यस्तै सोलुखुम्बुमा माप्य दूधकोशी गाउँपालिकामा पनि गठबन्धन असफल भएको छ । अन्य पालिकामा एकल प्रतिस्पर्धामा दलहरु थिए । तेह्रथुममा ६ पालिकामध्ये ४ पालिकामा गठबन्धन सफल हुँदा २ पालिकामा असफल भएको छ ।
खोटाङको ८ पालिकामा गठबन्धन भए पनि ६ पालिकामा मात्र सफल भएको छ । अन्य २ पालिकामा गठबन्धन असफल भयो । सबैभन्दा पहिले गठबन्धन गरेर चुनावमा जाने सहमति भएको धनकुटामा पनि गठबन्धन पूर्ण रुपमा सफल भएन । ७ वटै पालिकामा गठबन्धन भए पनि त्यहाँ एउटा पालिकामा मात्रै नतिजा सकारात्मक आयो । ९ वटा पालिकामा गठबन्धन भएको ताप्लेजुङमा ५ पालिकामा गठबन्धन सफल हुँदा ४ पालिकामा असफल भयो । ३ पालिकामा गठबन्धन भएको ओखलढुंगामा एक पालिकामा मात्रै सफल देखियो । ८ पालिकामा गठबन्धन भएको संखुवासभामा ३ पालिकामा मात्रै सफल भयो ।
यता ८ पालिकामा गठबन्धन भएको पाँचथरमा ६ पालिकामा सफल हुँदा दुई पालिकामा गठबन्धन असफल भयो । सबै पालिकामा गठबन्धन भए पनि इलाममा परिणाम सकारात्मक हुन सकेन । ८ वटा पालिकाको परिणाममा गठबन्धन दल २ वटामा मात्रै सफल भए । उदयपुरमा भने गठबन्धन केही हदसम्म सफल देखिएको छ । गठबन्धन भएको पाँच पालिकाको परिणाममा ४ वटामा गठबन्धन दललाई सफलता प्राप्त भएको छ ।
गठबन्धन भएको मोरङका दुई वटा पालिकामध्ये एउटामा सफल भएको छ भने झापामा तीन पालिकामा गठबन्धन दल असफल भएको छ । अन्यको परिणाम आउन बाँकी छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया