
काठमाडौं । द्वन्द्वग्रस्त मुलुक कंगोमा खटिएको संयुक्त राष्ट्र संघीय शान्ति मिसन मोनुस्कोको विरोधमा भएको प्रदर्शनले उग्ररुप लिँदा तीनजना शान्ति सैनिकको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघले प्रेस विज्ञप्ति जारी गर्दै एक शान्ति सैनिक र दुई यूएन प्रहरीको मृत्यु भएको पुष्टि गरेको हो ।
समाचार संस्था रोयटर्सका अनुसार मिसनको फोर्स हेडक्वार्टर रहेको शहरमा भएको तनावमा कम्तिमा १२ जना प्रदर्शनकारी पनि मारिएका छन् । कंगोको बुटेम्बोस्थित सैनिक बेसमा सोमबारदेखि मोनुस्को मिसनविरुद्ध आन्दोलन चर्किएको छ ।
मृत्यु हुनेमध्ये दुईजना आफ्ना शान्ति सैनिक रहेको भारतका विदेश मन्त्री एस जयशंकरले बताएका छन् । तेस्रा व्यक्ति चाहिँ मोरोक्कोका सैनिक भएको बुटेम्बाका प्रहरी प्रमुख पल नग्माले भनेका छन् ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि भएको कुनै पनि आक्रमण ‘युद्ध अपराध’ हुने बताएका छन् । उनले कंगोका सम्बन्धित निकायलाई घटनामा जिम्मेवारहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भनेका छन् ।
गुटेरसले प्रदर्शनकारीको मृत्युबारे अनुसन्धान गर्न पनि कंगोका निकायलाई संयुक्त राष्ट्रसंघका तर्फबाट सहयोग गरिने बताएका छन् ।
संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ खटिएको ‘यूनाइटेड नेसन अग्नाइजेसन स्टाबलाइजेसन मिसन इन डीआर कंगो–मोनुस्को’ विश्वकै ठूलो शान्ति मिसन मध्येमा पर्छ ।
तर यो मिसनले दशकौंदेखि कंगोमा रहेको हिंसा रोक्न असफल भएको भन्दै प्रदर्शनकारीले आलोचना गरिरहेका छन् । द्वन्द्वग्रस्त क्षेत्रका हतियारधारी समूहको सामना गर्न मिसन असफल भएको उनीहरुको भनाइ छ ।
तनाव भएको क्षेत्रमा १२० बढी सशस्त्र समूह रहेको बताइन्छ । संयुक्त राष्ट्र संघले कंगोमा सन् १९९९ मा पहिलो पटक ‘अब्जर्भर मिसन’ पठाएको थियो । सन् २०१० देखि यसलाई मोनुस्को मिसन भनिएको थियो । यस मिसन अन्तरगत १६ हजार बढी सैनिकले काम गर्ने संयुक्त राष्ट्र संघको वेवसाइटमा उल्लेख छ ।
प्राप्त विवरणहरुका अनुसार कंगोको माथिल्लो सदनका अध्यक्ष मोडेस्ट भाटीले शान्ति सैनिकलाई ‘आफ्नो झोला कस्न’ भन्दै अभिव्यक्ति दिएपछि आन्दोलन चर्किएको हो । कंगो सरकारका प्रवक्ता पट्रिक मुयायाले चाहिँ सुरक्षा निकायले प्रदर्शनविरुद्ध ‘चेतनावनी’ स्वरुप गोली चलाएको भनेका छन् ।
आन्दोलनको पहिलो दिन सोमबार सडकमा सयौंको संख्यामा उत्रिएका प्रदर्शनकारीले सडक जाम गराएका थिए भने संयुक्त राष्ट्र संघविरुद्ध नारावाजी गरेका थिए । शान्ति मिसनको हेडक्वार्टर र लस्टिक बेसमा तोडफोड र लुटपाट गरेको भनिएको छ ।
तनावको स्थिति सिर्जना भएपछि हेलिकोप्टरबाट एयरलिफ्ट गरेर यूएनका कर्मचारीहरुलाई त्यहाँबाट निकालिएको थियो ।
सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार कंगोमा अहिले करिब एक हजार शान्ति सैनिक तैनाथ छन् । कंगोमा नेपाली सेनाको द्रुत प्रतिकार्य टोली, इञ्जिनियरिङ इकाइ र मिलिट्री अब्जरभर/स्टाफ अफिसर गरी तीन खाले सैनिक खटिएका छन् । ती इकाइ बुनिया र बेनीमा छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया