
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरु संवैधानिक इजलासमा बस्न योग्य रहेको जिकिर गरेका छन् ।
मंगलबार संवैधानिक इजलाससमक्ष राय प्रस्तुत गर्दै आफूहरु संवैधानिक इजलासमा रहन ‘अयोग्य’ नरहेको जिकिर गरेका हुन् ।
न्यायाधीश केसीले राय प्रस्तुत गर्दै भनेका छन्, ‘प्रस्तुत जिकिरमा उठाइएको ऋषिराम कट्टेल समेतको मुद्दाको पुनरावलोकन अनुमतिको निवेदनमा प्रथमतः मसमेत सम्मिलित इजलास (तीन सदस्यीय) बाट पुनरावलोकनको अनुमति प्रदान नभएको सो मुद्दाको तथ्य वा विवादित विषयवस्तुसँग प्रस्तुत मुद्दाको तथ्य वा विवादित विषयवस्तुको कुनै सार्थक सरोकार नभएकोले उपरोक्त उल्लेखित दुई सैद्धान्तिक आधारहरु र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २७१ समेतको अवस्था विद्यमान नहुँदा प्रस्तुत मुद्दाको सुनुवाइबाट मैले आफुलाई अलग गरिरहनुपर्ने कुनै गम्भीर तथ्यगत आधार र कारण नदेखिएकोले निवेदकहरुको बहस जिकिरसँग सहमत हुन सकिएन ।’
त्यस्तै अर्का न्यायाधीश श्रेष्ठले भनेका छन्, ‘प्रस्तुत मुद्दा संसद विघटन सम्बन्धको भएको र निवेदक ऋषिराम कट्टेलको मिसिलमा उठेको प्रश्न उपरोक्त बमोजिम दलको नाम सम्बन्धको भई फरक विषयवस्तुमा निर्णय भएको देखिएकोले प्रस्तुत मुद्दासँग कुनै सार्थक सम्बन्ध राख्ने नदेखिएको तथा सो मुद्दामा भएको निर्णयले प्रस्तुत विवादमा हुने निर्णयलाई प्रभावित बनाउने अवस्था समेत नभएको र मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २७१ को अवस्था समेत विद्यमान नहुँदा प्रस्तुत मुद्दामा हुने सुनुवाइमा मेरो संलग्नता हुनलाई कुनै बाधा पर्ने देखिएन ।’
फेसबुकबाट तपाइको प्रतिक्रिया