कोशीका मुख्यमन्त्री कार्कीले पाए दुई तिहाई बढीको विश्वासको मत, सहमतीय सरकारको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको दुई तिहाई भन्दा बढी सदस्यको समर्थन पाए । नेकपा एमालेसँग मिलेर कांग्रेसभित्र विद्रोह गरेर मुख्यमन्त्री भएका केदार कार्कीले बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा उनले ८६ मत प्राप्त गरे ।

नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले विश्वासको मत दिए । उनको विपक्षमा राप्रपा मात्रै उभिएको छ । राप्रपाका ६ मध्ये पाँच सांसदले विपक्षमा मतदान गरे । एक सांसद अनुपस्थित रहे ।
विश्वासको मत पाएसँगै कांग्रेसभित्र कार्कीले गरेको विद्रोहको अनुमोदन भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि सत्तारुढ गठबन्धन दलले मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सारेको थियो ।

सहमतिको सरकार बन्ने : कार्की
कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् ।

बुधबार प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास हुने बताएका हुन् । ‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ’ उनले भने ।

मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साथै गठबन्धनमा नरहेको नेकपा एमालेले पनि विश्वासको मत दिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया