
काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार जोगाउने उपेन्द्र यादवको अनवरत प्रयत्न लगभग असफल भएको छ ।
सत्ता गठबन्धनमा रहेका दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार समर्थन फिर्ता लिएसँगै मधेशमा ६ वर्षपछि जसपा नेपाल सरकारबाट बाहिरिने निश्चित भएको छ ।
एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट बाहिरिनुअघि नयाँ समीकरण बनाउने सहमति छ ।
एमाले र माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका थिए भने त्यसपछि समर्थन फिर्ताको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराएका थिए । माओवादी मधेश प्रदेशसभा संसदीय दलका नेता भरतप्रसाद साहका अनुसार यादव नेतृत्वको जसपा नेपाल विभाजन भएकै दिनदेखि सरकारलाई समर्थन फिर्ता लिने गृहकार्य सुरु भएको थियो ।
नयाँ सरकार गठनका लागि एमाले र माओवादी केन्द्रसँगै यसअघि सत्ता बाहिर रहेका सीके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहित चार दलबीच सहमति जुटेको छ ।
यद्यपि, अहिलेसम्म सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागिसकेको छैन । छलफलमा सहभागी एक सांसदका अनुसार ‘एमाले वा माओवादीमध्ये एक दलले नयाँ सरकारको नेतृत्व गर्ने र त्यसका लागि पछि सहमति जुटाउनेमा उनीहरू एकमत छन् ।’
मधेश प्रदेशसभाका १०६ सदस्यमध्ये नेकपा एमालेसँग सभामुखसहित २४, जनमतसँग १३, माओवादी केन्द्रसँग ९ र लोसपासँग ८ सिट छ । यसले सरकारको लागि आवश्यक बहुमत पुग्छ । केन्द्रमा विभाजन भएको जसपा नेपालको मधेशमा आशोक राई नेतृत्वमा सांसदहरु खुल्न बाँकी छ ।
एक हप्ताअघि मात्रै पार्टी विभाजन भोगेका उपेन्द्र यादवका लागि मधेशको सरकार हातबाट गुम्नुले अर्को झट्का लागेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया