काठमाडौं। प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार विहान टेलिफोन सम्वाद भएको छ। सुरुमा दुवै प्रधानमन्त्रीबीच नयाँ वर्ष २०२० को शुभकामना आदान–प्रदान भएको थियो।
टेलिफोन सम्वादमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति भारतीय प्रधानमन्त्री मोदीले राखेको चासो र शुभेच्छाका लागि धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
टेलिफोन सम्वादमा दुवै प्रधानमन्त्रीबीच दुई देशबीचको सम्वन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०१९ सफल रहेको र बाँकी समस्याहरु पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन २०२० सफल रहने विश्वास व्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीले भारतय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
पछिल्लो समय भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाईसमेत समेटेर नयाँ नक्शा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको थियो। सीमा समस्या समाधान गर्न नेपाल सरकारले पूर्व प्रधानमन्त्री माधव नेपाललाई विशेष दूतका रुपमा पठाउने प्रस्तावप्रति पनि भारतले सकारात्मक जवाफ नदिएको अवस्थामा दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन सम्वादलाई महत्वका साथ हेरिएको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया