बेंसीशहर । लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा चार जना घाइते भएका छन् ।
घाइते हुनेमा बेंसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठुलीबेंसीका २२ वर्षीय गोविन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए ।
घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताए । घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो । त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ ।
उमासहित उहाँकी छोरी श्रृती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएको थियो । श्रृती मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइतेबाट जोगिएको उनले बताइन् । श्रृतीले भनिन्, “घरमा ममी र म मात्र थियौँ, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइहेको छ ।”
प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइते उनीहरुको घरसहित बेँसीशहर–१ का शम्शेर परियार, वडा नं ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मर्स्याङ्दी–३ तरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको छ । त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेँसीशहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ । यी अधिकांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ ।
लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत धक्का पुगेको बताइएको छ । जिल्लामा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया