उपत्यका कोरोना संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौँ । सरकारले काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । असोज १९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबैलाई सचेतता अपनाउन आग्रह गरेका हुन् ।

उनले अरु जिल्लाहरूमा कोरोनाको प्रकोप बिस्तारै नियन्त्रणउन्मुख भएपनि काठमाडौं उपत्यका जोखिममा रहेको बताए। विभिन्न सेवा प्रवाह गर्दा वा लिँदा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । दसैं र तिहार नजिकिँदै गएकाले पनि विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो ।

’चाडबाड नजिक आउँदै छ । दसैं नजिक छ । विशेष आग्रह छ हामी स्वस्थ रह्यौं भने फेरि पनि चाडबाड मनाउन सक्छौं ।’ ज्येष्ठ नागरिक कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले चाडबाडमा विशेष ख्याल गर्नुपर्ने उनको भनाइ थियो । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै मन्त्री ज्ञवालीले यसपालि टाढैबाट आशीष लिने काम गर्दा उपयुक्त हुने बताए ।

यसैबीच, मन्त्रिपरिषद्ले सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ । कोरोना संक्रमणको सुरुवात भएसँगै गत चैतयता निर्धारित परीक्षा स्थगित भएकामा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरेर त्यस्ता परीक्षा सञ्चालन गर्न स्वीकृति दिइएको ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई पनि स्वास्थ्य मापदण्ड पालना गरेर विभिन्न व्यवसायका लागि तालिम प्रदान गर्न स्वीकृति दिइएको छ । त्यस्ता तालिममा २५ जनाभन्दा बढीको सहभागिता भने नगर्न भनिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया