काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे। विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीको प्रभाव भइरहेका बेला प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन त्यस्ता वस्तुको प्रयोग बढाउन आग्रह गर्दै आएका छन्।
ओलीले भने, ‘मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए। म उहाँहरुलाई सुझाव दिन चाहन्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाउँm । आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन्। यिनीहरुलाई अगाडि बढाऔं।’
नेपाल योगको जननी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसै हिमवत्खण्डबाट संगीत, नृत्य, योग र आयुर्वेदसहित असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढको उल्लेख गरे। उनले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै यसले नेपालको इतिहास, सभ्यता र गौरवलाई झल्काउने बताए।
‘व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ,’ ओलीले भने, ‘मानव जातिको सर्वोपरी आकांक्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ। मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।’
उनले नेपालको ऊर्वर, जीवनमय र औषधिमय प्रकृति भए पनि नेपाल गरिबीमा परेको कुरा अब स्वीकार्य नहुने भन्दै यसलाई अब बदल्नुपर्ने उल्लेख गरे।
उनले भने, ‘समृद्धिका गन्तव्यमा पुग्ने आधारसहितको सङ्कल्प हामीसँग छ। यसका लागि स्वास्थ्य अनिवार्य पूर्व शर्त हो, त्यसैले निरोगी नेपालको अभियान सञ्चालन गर्ने भनेका छौँ। आहार, व्यायाम र आरामको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले योग र आयुर्वेदलाई अगाडि बढाऔँ ।’
सो अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकको लोकार्पण गरे।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योग अभ्यास र अध्ययनको क्रम थालनी भएको बताउँदै निरोगी रहन यसलाई व्यापक बनाउन आग्रह गरे। नेपालले हरेक माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया