शंकर पोखरेलकै नेतृत्वमा लुम्बिनीमा एकल सरकार बनाउने एमाले संसदीय दलको निर्णय

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमालेले एकल सरकार बनाउने तयारी सुरु गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजिम एकल सरकार बनाउने निर्णय गरेको हो ।

एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले एकल सरकारको मुख्यमन्त्री संसदीय दलका नेता शंकर पोखरेललाई नै तोक्ने निर्णय भएको जानकारी दिए । आजै मुख्यमन्त्रीको शपथ हुने गरी गृहकार्य अगाडि बढाइएको उनले बताए ।

लुम्बिनीमा एमालेका ४१ जना प्रदेशसभा सदस्य छन् । जसपाका ४ र माओवादी केन्द्रका २ सांसद निस्कासनमा परेपछि अहिले प्रदेशसभा ८१ सदस्यमा खुम्चिएको छ । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छन् जुन एमालेमा मात्रै छन् ।

यसअघि आजै बिहान मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका थिए । प्रदेशप्रमुखले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्म मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न जिम्मेवारी दिएको प्रदेशप्रमुख कार्यलयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासहित ४१ जनाले वैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सदस्यलाई मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा ल्याउँदै मन्त्री बनाएका थिए ।

यद्यपि जसपाका ४ सदस्य निलम्बन भएपछि अविश्वासको प्रस्ताव सामना नगरी संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया