काठमाडौँ — उपप्रधानमन्त्रीले नेतृत्व गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अस्पतालमा अक्सिजन व्यवस्थापन गर्न नसकेपछि त्यसको जिम्मेवारी पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पाएको छ । अस्पतालका लागि लागू गरिएको अक्सिजनको कोटा प्रणाली पनि हटाइएको छ ।अन्तरमन्त्रालय समन्वय र नीतिगत निर्णय गर्नुपर्ने सीसीएमसीले अक्सिजन व्यवस्थापनकै जिम्मेवारी लिएको थियो । अस्पतालमा कोटा प्रणालीबाट अक्सिजन दिने सीसीएमसीको निर्णय विवादमा परेको थियो । कोटा प्रणालीकै कारण अक्सिजन सिलिन्डर पाउन नसकेको भन्दै अस्पताल सञ्चालकहरूले विरोध गरेका थिए । अस्पतालले अक्सिजन लिइरहेको भन्दा फरक कम्पनीबाट लिनुपर्ने सीसीएमसीको प्रावधानले पनि समस्या भएको उनीहरूको गुनासो थियो ।सीसीएमसीले लिएको जिम्मेवारी स्वास्थ्यमा जानेबित्तिकै कोटा प्रणाली हटेको हो । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर अक्सिजनको ढुवानी नियमित प्रक्रियाबाट हुने जनाएको छ । अक्सिजन वितरण व्यवस्थापनका लागि मन्त्रालयले उच्चस्तरीय टोलीसमेत गठन गरेको छ । आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले ११ औं तहका कर्मचारीको नेतृत्वमा दुईवटा टोली गठन गरेको हो ।‘अर्को व्यवस्था नभएसम्म उद्योगबाट अस्पतालहरूमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराइदिनु हुन तथा आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीहरूको निर्णय र निर्देशनअनुसार स्थानीय प्रशासनहरूसँग सहकार्य र सरोकारवाला अन्य निकायको समन्वयमा गराइदिनुहुन अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति सहज हुने विश्वास व्यक्त गरे । ‘सीसीएमसीको निर्णयले अस्पताल र वर्षौंदेखि कारोबार भइरहेको अक्सिजन कम्पनीको सम्बन्ध टुटाएर अर्कै कम्पनीबाट ग्यास लिनुपर्ने बाध्यता थियो । आवश्यकताअनुसार अक्सिजन पाउन सकेका थिएनौं,’ उनले भने । सीसीएमसीका एक कर्मचारीले भने अस्पतालमा भर्ना भएका बिरामीको अध्यावधिक तथ्यांक नभएकैले अक्सिजन व्यवस्थापनमा समस्या भएको बताए ।स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिसबाहेक घर वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न, भएका सिलिन्डर नजिकको अस्पताल र स्थानीय प्रशासनमा उपलब्ध गराउन आग्रह गरेको छ । घरमा अक्सिजन सिलिन्डर राखे, नराखेको, सम्बन्धित उद्योगले अस्पतालबाहेक अन्यत्र निजी प्रयोगमा दिए, नदिएको अनुगमन स्थानीय प्रशासनमार्फत गर्ने, गराउने व्यवस्था गर्न मुख्यसचिवले बिहीबार गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डरको अभिलेख राख्न सशस्त्र प्रहरी खटाइने भएको छ । मापदण्डविपरीत अक्सिजन सिलिन्डर प्रयोग वा वितरण गर्न कसैलाई दबाब नदिने, उद्योग र अस्पतालले पनि कुनै किसिमले मापदण्डविपरीत प्रयोग नगराउने जनाइएको छ । चौबीसै घण्टा अक्सिजन प्लान्ट सञ्चालन गर्ने, खाली अक्सिजन सिलिन्डर तत्काल प्लान्टमा पठाउने र प्लान्टले पनि तत्काल भरी फिर्ता पठाउने व्यवस्था गर्ने, यसको समन्वय र अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा उद्योग मन्त्रालयले गर्ने जनाइएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया