
काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको निष्कर्ष निकालेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको बताए ।
बैठकमा उपस्थित उपलब्ध स्थायी कमिटी सदस्यहरुले राज्यका तीनवटा अंगहरु बीचको शक्ति सन्तुलनलाई हल्लाईदिने काम गरेको साझा निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताए ।
अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भएपनि फैसला कार्यान्वयन भने गर्ने उनले बताए । उनले भने, ‘नेकपा एमाले स्थायी कमिटीका उपलब्ध कमरेडहरुको बीचमा आज हामीले अनौपचारिक छलफलहरु गरेका छौँ । मुख्यतः आज सर्वोच्च अदालतबाट भएको फैसला र यसबाट उत्पन्न गम्भीर परिस्थितिको बारेमा हामीले विभिन्न कमरेडहरुका धारणाहरु बुझ्ने काम गरेका छौँ । उपस्थित सबै कमरेडहरुको एउटा साझा दृष्टिकोण के रहेको छ भने यो फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीको आधारभूत संरचनाहरुलाई निकै खल्बल्याउने काम गरेको छ । कुनैपनि लोकतन्त्र शक्तिपृथकिकरणका नियन्त्रण र सन्तुलनका सिद्धान्त माथि उभिएको हुन्छ । राज्यका तीनवटा अंगहरु विधायिका, कार्यपालिका, न्यायपालिका बीचको सन्तुलन र समन्वयले मात्रै लोकतान्त्रिक प्रणाली दिगो र टिकाउ हुन सक्छ । तर आजको फैसलाले यो शक्ति सन्तुलनका पिल्लरहरुलाई एकदमै हल्लाईदिने कामहरु गरेको छ ।’
प्रवक्ता ज्ञवालीले सरकार संसदमा उपस्थित दलले बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भएपनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पना भन्दा बाहिरको अभ्यासको सुरु भएको पनि बताए । पार्टी स्थायी कमिटी बैठक भोलि पुनः बस्ने प्रवक्ता ज्ञावलीले जानकारी दिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया