दार्चुला घटनाको सत्यतथ्थ पत्ता लगाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको उनका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।

स्थानीय प्रशासनका अनुसार अहिलेसम्म दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको जानकारी प्राप्त भएको जनाइएको छ । स्थानीयले भने तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा नदीमा खसेर वेपत्ता भएको आरोप लगाएका छन् ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्टले अहिलेसम्म तुइन चुँडिएर खसेको भन्ने जानकारी आएकाले जानकारी दिइन् । उनले भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको पनि बताइन् ।

अहिले घटनास्थलमा ससस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको आरोपअनुसार भारतीय एसएसबीसमेतलाई पत्राचार गरी के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भन्दै पत्राचार गरिएको भट्टले उनले बताइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया