तालिवानले सत्ता कब्जापछि पत्रकार सम्मेलन : समावेशी सरकार बनाउने घोषणा

काबुल । अफगान सत्ता नियन्त्रणमा लिएपछि तालिवानले पहिलोपटक राजधानी काबुलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो अवसरमा तालिवानी प्रवक्ताका अभिव्यक्ति सुन्दा तालिवान उदार बन्ने संकेत देखिएको जनाइएको छ ।

प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्ध सकिएको र अब कसैसँग बदला नलिइने बताए । आफ्नो सरकारले महिलाको अधिकारलाई इस्लामको कानून अनुसार सम्मान गरिने उनले बताएका थिए ।

स्वास्थ्यसहितका अत्यावश्यक क्षेत्रमा महिलाले काम गर्न सक्ने उनले बताए । उनले महिलासँग कुनै भेदभाव समेत नगर्ने बताए । २० वर्षअघिको शासनकालमा तालिवानलाई महिलालाई अत्याचार गर्ने आरोप थियो ।
आइतबार काबुललाई नियन्त्रण गरेपछि तालिवानले महिला र बालबालिकालाई पहिलेजस्तै शोषण र अत्याचार गर्ने संशय पैदा भएको थियो । प्रवक्ता मुजाहिदले आफूहरुले सत्ता कब्जा गरेपछि सबैजनालाई आममाफी दिइएको बताए ।

राजनीतिक वार्ता जारी रहेको र आफूहरु सबै पक्षलाई समेटेर सरकार बनाउने तयारीमा जुटेको उनले बताए । साथै उनले अफगानिस्तानलाई छिमेकीसहितका अन्य मुलुकविरुद्ध प्रयोग हुन नदिइने समेत बताए । ‘हामी विश्व समुदायलाई आश्वस्त तुल्याउन चाहन्छौं कि हाम्रो जमिन कसैको विरुद्ध प्रयोग हुन दिइने छैन’ उनले भने ।

काबुलस्थित विदेशी दूतावासहरुको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको र कुनै हानी नपुग्ने उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: