प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते लागि बोलाइएको छ । सोही बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री राईले बताए ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्री राईले २३ गते नै विश्वासको मत लिने बताएका थिए । तर प्रदेशसभा बैठक ३० गतेसम्मका लागि स्थगित गरिएपछि सोही दिन विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवायलमा विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गर्नुपर्ने प्रावधान छ । दुई दिनअघि प्रस्ताव दर्ता गरेर ३० गते विश्वासको मत लिने तयारी रहेको मुख्यमन्त्री राईले बताए ।

हाल ९२ सदस्यीय प्रदेशसभामा सत्तापक्षीय पाँच दलीय गठबन्धनका ५० जना सदस्य छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।
विश्वासको मत लिएपछि थप मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री राईले बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: