अस्थिरताका बेला एमसीसी पास गर्ने षड्यन्त्र भइरहेको छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले संसदबाट एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घर घरमा पुर्‍याउन लागेको टिप्पणी गरे ।नेता रावलले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान गरे ।

‘जसरी बेलायतीहरुले भारतमा इष्ट इन्डिया कम्पनी खोले त्यो इष्ट इन्डिया कम्पनी भन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडी बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ’ उनले भने ।एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरुप नभएको रावलले बताए । एमसीसी सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनले टिप्पणी गरे ।

उपाध्यक्ष रावलले सरकार गठन भएको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबन्डाको राजनीतिको विकृतिको नमुना भएको उल्लेख गरे ।उनले जयसिंह धामी प्रकरणमा परराष्ट्र मन्त्रालय र स्वयम् प्रधानमन्त्री पनि बोल्न नसकेको भन्दै आलोचना गरे । ‘नेपालको परराष्ट्र मन्त्रालयलाई बोल्नलाई, प्रधानमन्त्रीलाई बोल्नलाई घाँटीमा कसले समातेको छ रु’ उनले प्रश्न गरे । सरकारले छानविन समितिले दिएको प्रतिवेदन पनि तोडमोड गरेर भारतप्रति नरम बनाएको पनि रावलले टिप्पणी गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया