एमालेको दोस्रो पूर्ण बैठक : पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने

काठमाडौं । नेकपा एमालेको शनिबारबाट सुरु भएको दोस्रो पूर्ण बैठकमा छलफलका १५ वटा एजेण्डा प्रस्तुत भएका छन् ।

पहिलो दिनको बैठक सकिए पछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले छलफलका ती एजेण्डाहरु बैठकले पारित गरेको जानकारी दिनुभयो । ती मध्ये नौवटा एजेण्डामा छलफल गरेर बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले अमृतकुमार बोहोराको अध्यक्षता केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै बैठकले महाधिवेशनको संक्षिप्त समीक्षा गरेको उहाँले बताउनुभयो । समीक्षामा महाधिवेशन भव्य रुपमा सफल भएको निष्कर्ष निकालिएको छ ।

आउने पुस २३ गते सबै जिल्लामा पार्टीको जिल्ला अधिवेशन एकै साथ सम्पन्न गर्ने र माघ ८ गते सबै प्रदेशमा एकै साथ प्रदेश अधिवेशन सम्पन्न गर्ने पनि केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।

विधानमा आवश्यक सम्पादन गर्न र पार्टीको नियमावली संशोधन गर्नका लागि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र केन्द्रीय सदस्य खगराज अधिकार तथा रमेश बडाल सदस्य रहेको तीन सदस्सीय कार्यदल बनाउने निर्णय बैठकले गरेको उहाँले जानकारी दिनुभयो । सो कार्यदलले एक हप्ता भित्रमा ती काम सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

बैठक सञ्चालन सम्बन्धी कार्यविधि प्रस्तुत गरेर त्यसलाई सुझाव सहित पारित गरेको उहाँले जानकारी दिनुभयो । अर्को बैठकबाट सो कार्यविधि कार्यान्वयनमा आउने ज्ञवालीले बताउनुभयो ।

पार्टीको केन्द्रीय कार्यालय ५ वर्षको लागि तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सार्ने र त्यस बीचमा बल्खुमा पार्टीको कार्यालय भवन बनाउने विषयमा पनि बैठकमा छलफल भएको छ ।

पुस महिना भरीमा जिल्लामा आवश्यक तयारी गरेर माघ र फागुनमा पार्टी विस्तार र पार्टी प्रवेश अभियान चलाउने बैठकले निर्णय गरेको छ । फागुन महिना भरिमा पार्टीका जनवर्गीय संगठनका राष्ट्रिय सम्मेलन र महाधिवेशन गर्ने पनि निर्णय भएको छ ।

भोलिको बैठक बिहान ११ बजे बस्ने र सो बैठकले बाँकी रहेका ६ वटा एजेण्डमा छलफल गरेर निर्णय गर्ने ज्ञवालीले बताउनुभयो । जसमा केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सदस्यको कार्यविभाजन लगायत रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया