काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ ।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए ।
सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।
बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् ।
तर जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले बताएको थियो । त्यसबारे थाहा पाएपछि उनले पुनः विक्षिप्त हुँदै अर्को भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि यो विषयले संसद्मा पनि प्रवेश पाएको थियो ।
कांग्रेस नेता एवं सांसद गगनकुमार थापाले घटनामा तत्काल छानविन थालेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिन आग्रह गरेका थिए । सभामुख अग्नि सापकोटाले पनि अनुसन्धान अघि बढाउन सरकारलाई रुलिङ गरेका थिए ।
जबरजस्ती करणीको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवाले स्वतः स्फूर्तरुपमा भेला भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिए । राजधानीबाहिर पोखरा, झापालगायतका विभिन्न शहरमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भए ।
शनिबार पनि मुलुकका विभिन्न ठाउँमा पीडितको न्यायका लागि भन्दै प्रर्दशन भइरहेका वेला प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया