प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।
शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो ।
सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् । ‘उहाँहरुले आफ्नो मान्यताहरु दर्ता गर्नुभएको छ’ प्रमुख सचेतक रामेश्वर फुयाँलले भनेका छन् ।

अब प्रदेशको नाम र राजधानीका विषयमा नेकपाले प्रदेशसभामा एउटा मात्र प्रस्ताव दर्ता गराउनेछ । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फलोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताए ।
‘हाम्रो पार्टीको आधिकारिक निर्णयअनुसार सबै अगाडि बढ्नुहुनेछ । पार्टीभित्र बहस र छलफल भएपछि एउटा निचोडमा पुग्नैपर्छ । हामी पनि निचोडमा पुगेका छौं मुख्यमन्त्री पौडेलले भने । उनले नेकपाभित्र ह्वीप लाउनुपर्ने अवस्था सिर्जना नहुने दाबी गरे ।

नेकपाभित्र प्रदेशको नाम भन्दा राजधानीको विषयमा विवाद छ । धेरै सांसद काभ्रेको पक्षमा रहेकाले संसदीय दलको बैठकमा सहमति जुट्न सकेको थिएन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया