रियाद। साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले साउदी सरकारले ल्याएको बहिर्गमन योजनाले १० हजार अवैधानिक नेपाली कामदारलाई स्वदेश फर्कने अवसर मिलेको बताएका छन्। रियादस्थित नेपाली दूतावासमा गत शुक्रबार श्रमिकहरूको समस्या र समाधानको बारेमा आयोजित एक अन्तरक्रियात्मक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले साउदी सरकारले अवैधानिक आप्रावासी कामदारलाई दिएको बहिर्गमन भिसाको अवसरमार्फत अहिलेसम्म करिब १ सय जनाभन्दा बढी नेपाली स्वदेश फर्किसकेको पनि जानकारी दिए। साउदीमा कति नेपाली अवैधानिक रुपमा काम गर्छन् भन्ने यकिन तथ्याङ नभए पनि ५ देखि १० हजारको हाराहारीमा रहेको हुन सक्ने दूतावासको अनुमान छ। ‘साउदी सरकारले विदेशी कामदारलाई दिएको बहिर्गमन योजनाले यहाँ रहेका ५ देखि १० हजारजना अबैधानिक नेपाली कामदारहरुलाई स्वदेश फर्किने अवसर मिलेको छ। अहिलेसम्म यो अवसरको लाभ लिँदै १ सय जनाभन्दा बढी नेपाली घर फर्किसकेका छन्,’ राजदूत राजपुतले भने।
साउदी सरकारले परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि यस्तो अवसरको व्यवस्था गरेको छ । दूतावासकाअनुसार साउदी सरकार, श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिना भन्दा वढी अवधि अकामा नवीकरण नभए, नयाँको हकमा ४ महिना भन्दा वढी अवधि अकामा जारी नभएको तथा कम्पनी छोडी भागेर कालोसूचीमा परेका तर कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना नपरेका कामदारका लागि बहिर्गमन भिसा जारी गर्ने व्यवस्था मिलाएको हो। यो अवसर अन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरूको दूतावासले विभिन्न स्थानमा कर्मचारीहरू खटाई फारम र निवेदन संकलन समेत गर्दे आएको राजदूत राजपूतले जानकारी गराए।
अन्तरक्रियात्मक छलफल कार्यक्रममा राजदूत राजपुतसँगै नवनियुक्त श्रम सहचारी जीवनकुमार राई, नेपालदेखि आमन्त्रित मलेसियाका भूतपूर्व राजदूत तथा आइएलओका कन्सल्टेन्ट विषयगत विज्ञ डा.ऋषिराज अधिकारी, साउदी अरबको नेपाली राजदूतावासमा ४ वर्षसम्म नियोग उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका हरिशचन्द्र घिमिरे, श्रम रोजगार तथा वैदेशिक रोजगार विभागका निवर्तमान महानिर्देशक डा. भिष्म कुमार भुसाल परराष्ट्र मन्त्रालयका सहसचिव कुल बहादुर मगर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका शाखा अधिकृत जमुना काफ्ले, संविधान सभाका पूर्व सदस्य बिक्रम खनाललगायत रियादमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा बोल्दै दूतावासका नवनियुक्त श्रम सहचारी जीवनकुमार राईले साउदीमा कार्यरत श्रमिकले आफ्नो समस्या बाहिर ल्याउन नचाहने गरेको बताए। ‘आफ्नो समस्या बाहिर ल्याउँदा कम्पनीले थप धेरै समस्या दिने भएकाले धेरै नेपालीहरु त्रसित भइ बसिरहेका छन्। यस्तो जानकारी आउँदा हामी निकै चिन्तित छौँ,’ श्रमसहचारी राईले भने,‘ धेरै नेपालीहरुलाई आफू बसेको ठाउँ र आफ्नो सम्पर्क नम्बर समेत थहा नभएका कारण समस्या समधान गराउन गाह्रो पर्ने सम्भावाना छ।’
पूर्व सभासद बिक्रम खनालले विभिन्न नीति नियाम बनाएर घरयासी महिलालाई पनि वैदेशिक रोजगारमा पठाउन सकिने वातावरण व्यवस्थापन गराउनु पर्नेमा जोड दिएका दिए। जोसको बेलामा मात्रै ठूलो कुरा गर्ने तर कार्यान्वनमा नआउँदा धेरै समस्या आएको भन्दै यसको बारेमा विभिन्न राजनीतिक दलहरुले पनि समाधानको लागि जोड दिनुपर्ने उनको भनाइ थियो।
साउदी अरबको नेपाली राजदूतावासमा ४ वर्षसम्म नियोग उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका हरिशचन्द्र घिमिरे वैदेशिक रोजगारको शिलशिलामा श्रमिकहरुलाई आइपर्ने समस्या समाधानमा सबै एक हुनुपर्ने बताए। वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न नेपाल सरकारको मात्र नभई सबै क्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्ने उनको धारणा थियो। उनले समस्याहरु न्यूनीकरण गर्नको लागि ओरेन्टेसन कक्षको व्यवस्था हुनुपर्ने र आगामी दिनहरुमा केही सिप सिकेर मात्रै वैदेशिक रोजगारमा पठाउनु पर्ने कुराको सर्वेक्षण भइरहेको जानकारीसमेत दिए। सुरु गरेका कामले निरन्तरता नपाउने भएकाले सबै कामले प्रभावकारिता पाउन नसकेकोमा उनले चिन्ता समेत व्यक्त गरे।
त्यसैगरी वैदेशिक रोजगार विभागका निवर्तमानमहानिर्देशक डा.भिष्मकुमार भुसालले अनलाइन प्रक्रियाबाट नै विज्ञापन गर्ने र सबै कुरा अनलाइनबाट दर्ता गर्न मिल्ने भएकाले अब वैदेशिक रोजगारीका सबै कुराहरु वेबसाइटमा हेर्न सकिने बताए। ‘अब विभागको वेभसाइट लगिन गर्न बित्तिकै घर घरमा बसेर नै आफूले चाहेको कामको छनोट गर्न सकिने सबै व्यवस्था मिलाएका छौँ। पहिला जस्तो विभिन्न झन्झट बेहोर्नु पर्नै अवस्थाको अन्त्य हुँदैछ। पासपोर्टमा कुनै पनि स्टिकर नटास्ने भएकाले विभिन्न ठाउँमा हुने अपमानबाट पनि टाडा रहने व्यवस्था लागू गराउन पूर्ण तयारी भएको छ,’ उनले भने।
रियादमा रहेका क्रियाशील संघ संस्थाहरुको प्रतिनिधिहरुले श्रमिकहरूको समस्याको समाधानको लागि सल्लाह तथा सुझाब दिने क्रममा यहाँ कार्यरत श्रमीकको मासिक तलब १ हजार ३ सय रियाल जसरी हुन्छ कार्यान्वनमा ल्याउन सुझाव दिएका थिए।
नेपालीहरुको समस्याको समाधान तथा उद्धार गर्न अहिलेसम्म चन्दा संकलन गर्नु पर्ने भएकाले अब उप्रान्त त्यसको वैकल्पिक सरकारले व्यवस्था खोज्नु पर्ने माग राखेका थिए। उनीहरुले दूतावासबाट १३ सयमा भिसाको अनुमति लिएर पनि १ हजार मात्रै श्रमिकहरुले तलब लिन बाध्य रहेको अवगत गराएका थिए। श्रम गर्दा १५ सय रियालमा श्रम गरे पनि सम्झौता पत्रमा ८ सय प्लस २ सय राखेर धेरै नेपाली श्रमिकले १ हजार मात्रै तलब पाइरहेको तर्फ पनि उनीहरुले ध्यानकर्षण गराए।
नेपालमा नर्स पढेका ब्यक्तिलाई युरोप अस्ट्रेलियामा भन्दा धेरै तलबको ब्यबस्था साउदीमा रहेको भन्दै लेबरमा मात्रै नभइ दक्ष जनशक्तिलाई पनि प्राथामिकतमा राख्नु पर्नै उनीहरुको माग थियो । उनीहरुले १० हजारमा वैदेशिक रोजगारमा जान पाउने व्यवस्था भए पनि लागू नभएकोमा दुखेसो पोख्दै नेपालका म्यानपावर व्यवसायी अनुसन्धान गर्नको लागि अनुरोध समेत गरेका थिए।
प्रवासमा नेपाली श्रमिकहरुलाई कम्पनीले दिएको बिमामा चौथो दर्जाको मेडिकल कार्ड दिने भएकाले भनेको जस्तो उपचार गराउन नसकेको हुँदा अझै समस्यमा परेको भन्दै नेपाल सरकारदेखि नै यस बिषयको समाधानमा जोड दिनुपर्ने बिषयमा पनि छलफल गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा नियोग उपप्रमुख दिलिप पौडेलले दूतावाासलाई झुक्केर १३ सयमा भिषाको अनुमति लिई रहेको कुरा बाहिर आइरहेको र प्रमाणसहित भेटिएमा कानुन बमोजिमको सजाय भोक्नु पर्ने बताउँदै कुनै पनि हालतमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई दुताबासले नछोड्ने प्रतिबद्दता व्यक्त गरे ।
फेसबुकबाट तपाइको प्रतिक्रिया