स्वाब दिए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुहोस् : मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन्।

सरकारी अस्पतालका नर्सिङ, पारामेडिसिनहरुले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन समेत उनले अनुरोध गरे ।

यस्तै काठमाडौँ उपत्यकामा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरुलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसीआरका लागि स्वाब दिन प्रवक्ता गौतमले अनुरोध गरेका छन् ।

नेपालमा अहिलेसम्म पाँच लाख ९२ हजार ४ सय १८ जनाको पिसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार १ सय १७ जनामा सङ्क्रमण, १८ हजार ३ सय ५० जनामा सङ्क्रमण निको र १ सय ४६ जनाको संक्रमणका कारणले मृत्यु भइसकेको छ ।

काठमाडौं उपत्यकामा नमूना परीक्षणका लागि १४ वटा अस्तालमा स्वाब सङ्कलन केन्द्र राखिएको छ । त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्तपाल, निजामती अस्पताल, स्टार अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरीको बलम्बु अस्पताल, ह्याम्स अस्पताल, नेपाल–चीनमैत्री अस्पताललगायतका १४ अस्पतालमा गई स्वाब दिनका लागि सङ्क्रमणको जोखिम भएका व्यक्तिलाई आग्रह गरिएको प्रवक्ता गौतमले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया