पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई १३ विद्यार्थी संगठनको सात दिने अल्टिमेटम

काठमाडौं । अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

शुक्रबार संयुक्तरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई मागपत्र बुझाउँदै विद्यार्थी संगठने सात दिनभित्र उक्त व्यवस्था मिलाउन अल्टिमेटम दिएका छन् ।

माग पूरा नभए संघर्ष गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । उनीहरुले विद्यालयबाट क्वारेन्टिन हटाएर कक्षा सञ्चालन र कक्षा १२ लगायत क्याम्पस र विश्वविद्यालय तह सञ्चालन गर्न माग गरेका छन् ।

लकडाउन र निषेधाज्ञाको समयमा अनलाइन कक्षाको नाममा अनियमित र गैरकानुनीरुपमा चर्को शुल्क असुलेका निजी विद्यालयहरुलाई कारबाही गर्नु पर्ने मागसमेत विद्यार्थीको छ । मागपत्र बुझेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले जायज मागहरु पूरा गर्ने प्रयास गर्ने आश्वासन दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया