युवालाई उद्यमी बनाउन चाँगुनारायण नगरपालिका र युवा परिषदबिच सम्झौता

भक्तपुर । चाँगुनारायण नगरपालिकाको सातौं नगर परिषदबाट पारित भएको मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत व्यवसाय गर्ने युवालाई विना ब्याज र विना धितो ३ लाख रुपैयाँँसम्म ऋण दिने अभियानमा राष्ट्रिय युवा परिषद्ले साथ दिने भएको छ ।

भक्तपुर परिषद्को सभाहलमा सम्पन्न एक कार्यक्रममा नगरपालिका र युवा परिषदबीच सम्झौता भएको छ ।

नगरपालिकाको उद्यमशीलता कार्यक्रम अन्तर्गत सहभागी हुन चाहने १ हजार १२ जना युवाहरु मध्ये पहिलो चरणामा ३ सय जनालाई विना ब्याज र विना धितो ३ लाख रुपैयाँँसम्म ऋण लगानी गरी उद्यमी बनाउन छनौट तथा तालिम लगायतका बिषयहरूमा राष्ट्रिय युवा परिषद्ले नगरपालिकालाइ सहयोग गर्ने भएको हो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उद्यमी बन्न चाहने मध्येबाट छानीएकाहरूलाई मानसिक र व्यवसायिक रुपमा तयार बनाउने तथा उद्यम स्थापनाका लागि चाहिने पुँजीका लागि विभिन्न बैंकसँग सहकार्य गर्ने । युवाहरुलाई तालिम दिने र सीप सिकाउने युवा परिषदका कार्यकारी अध्यक्ष ढुंगेलले बताए ।

नगरपालिकाका प्रमुख मिश्रले देशभरमै नभएको नौलो प्रयास शुरूवात गरीएको बताए । नगरपालिकाको श्रोतबाट ३ करोड रूपैया बैकमा जम्मा गरी त्यसैको ब्याज बाट आउने रकमले युवा उद्यमीहरूलाइ ब्याज अनुदान दिने तयारी गरीएको बताए ।

‘नगरपालिकाले आफैं युवाहरुको छनोट गरेर स्वरोजगार बनाउने भन्दापनि विज्ञसँगको परामर्शबाटनै मेयर उद्यमशीलताका लागि युवाहरु छानिने छन् ।

उक्त कार्यक्रममा चाँगुनारायणकी उपप्रमुख विना बास्तोला, चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, परिषदका प्रमुख प्रशासकीय अधिकृत डाक्टर बाबुराम ढुंगाना, रिर्टनी माइग्रेसन नेपालका अध्यक्ष उत्तम अधिकारी, युवा उद्यमी राष्ट्रिय संजालका अध्यक्ष लोचन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया