वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । एकमन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । प्रधानमन्न्त्रीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएकी थिइन् ।
त्यसविरुद्ध परेका एक दर्जन भन्दा बढी रिटमाथि सर्वोच्च अदालतमा बहस भइरहेको छ । संसद विघटनको निर्णयलगत्तै दुई खेममा विभाजित नेकपाको आधिकारिकताको विवाद पनि निर्वाचन आयोगले टुंगो लगाउन सकेको छैन ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया