सरकारले काठमाडौं उपत्यकाका १८ वटा पेट्रोल पम्प हटाउने, कुन–कुन हट्ने भए ?

काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् ।

सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल निगमलाई पत्राचार भइसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालले काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भएको जानकारी दिए ।

उनले पेट्रोल पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान भएका पेट्रोल पम्प हटाइने बताए ।

नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले काठमाडौँ उपत्यकाको बढी मात्रामा सवारीसाधन आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको बताए ।

उनले निगमलाई प्राप्त पत्र अनुसार सम्बन्धित पेट्रोल पम्पलाई समेत निगमका तर्फबाट पत्राचार भएको जानकारीसमेत दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट काठमाडौँका १२ र ललितपुरका ६ वटा पेट्रोल पम्प हटाउन निगमलाई निर्देशन दिइएको छ ।

उनले पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको समयावधि दिइएको बताए ।

सो अवधिभित्र सम्बन्धित पेट्रोल पम्पले कहाँ कुन ठाउँमा सार्ने हो सोको आयल निगमको अनुसूचीमा भर्नुपर्छ, त्यसपछि निगमले सो ठाउँबारे जाँचबुझ गरी थप प्रक्रिया अगाडि
बढाउने जानकारी दिए ।

काठमाडौंका कुन–कुन पेट्रोल पम्प हटाइँदैछ ?

-कोत थुकु पेट्रोल पम्प, बालाजु
-जयन्ती पेट्रोल पम्प, थापाथली
-कनक पेट्रोल पम्प, कालीमाटी
-मायाराम भोलाराम पेट्रल पम्प, थापाथली
-बाबा पेट्रोल पम्प, कलङ्की
-श्यामा पेट्रोल पम्प, कलङ्की
-त्रिशूल पेट्रोल पम्प, कलङ्की
-भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
-कामाख्या पेट्रोल पम्प, कोटेश्वर
-जुबी पेट्रोल पम्प, बौद्ध
-बराल पेट्रोल पम्प, बौद्ध
-सीता पेट्रोल पम्प, महाराजगञ्ज

ललितपुरबाट हटाइने पेट्रोल पम्प

-बज्रबराही पेट्रोल पम्प, चापागाउँ
-बालकुमारी पेट्रोल पम्प, चापागाउँ
-टीका भैरव डिजेल स्टोर, चापागाउँ
-साझा पेट्रोल पम्प, जावलाखेल
-एच पी इन्टरनेसनल, जावलाखेल
-गायत्री पेट्रोल पम्प, जावलाखेल
गोरखापत्र दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया