लडाउनको मोडालिटी परिर्वतन : ब्यापार खुकुलो गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।
लकडाउन पुनःव्यवस्थित गरेर स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।
नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत १० बाट अन्तराष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ गतेबाट लकडाउन गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको समय जेठ ३२ सम्म कायम छ ।

पछिल्लो पटक लकडाउन थप गर्दा मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउने भनिएको थियो । तर सरकारले निर्णय गर्न ढिलो गर्दा व्यवसायीहरुले स्वस्फुर्त रूपमा पसल समेत खुल्न थालेका छन् भने मानिसहरूको आवागमन पनि बढेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया