
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन परमादेश दिएपछि सरकारले अदालतको फैसला बमोजिम प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाको स्थायी कमिटी बैठकमा अदालतले दिएको समयसीमाभित्र संसदको अधिवेशन बोलाउने जानकारी दिएका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अदालतको फैसलाको सम्मान गर्दै त्यसलाई समयसीमाभित्र कार्यान्वयनमा लगिने बताए ।
ज्ञवालीले संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए । दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङले बोलाएको बैठक नै आधिकारिक हुने पनि उनले बताए ।
ज्ञवालीले पार्टी एकताका लागि आफूहरु लचिलो भएकैले अहिलेसम्म प्रचण्डलगायत कसैलाई पनि कारबाही नगरिएको बताए ।
अबको राजनीतिक निकासका लागि सबै पक्षसँग आफूहरु छलफलमा रहेको समेत ज्ञवालीले बताए । ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बिहीबार पनि जारी रहनेछ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया