पुलिसलाई काठमाडौं मेयर्स कप क्रिकेटको उपाधि

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो संस्करणको मेयर्स कप एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा पुलिसले एपीएफमाथि सहजै जित हात पारेको हो । फास्ट बलर गुल्सन झा र सागर ढकाले ४-४ विकेट लिएपछि एपीएफले १०५ रनमै अलआउट भएको थियो । जवाफमा पुलिसले २४.१ ओभर खेल्दै २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पुलिसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । दिपेन्द्र सिंह ऐरीले २५औं ओभरको पहिलो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै जित निश्चित गरेका थिए । नेपाल पुलिसले नगद ५ लाख रुपैयाँ हात पार्‍यो । उपविजेता एपीएफले ३ लाख पायो । पुलिसले फाइनल जित्दै लिग चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो ।

एपीएफका लागि वसन्त रेग्मीले बनाएको २२ रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । यस्तै सन्दीप जोरा र अमर राउटेलाले १८-१८, भुवन कार्कीले १४ र अभिनाश बोहराले १२ बनाए । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले सुरुवाती तीन ओभरमा लगातार विकेट गुमायो । पहिलो ओभरमा शंकर राना ४ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरको तेस्रो बलमा आउट भए । तेस्रो ओभरमा कप्तान शरद भेषावकर पनि खाता नखोली आउट भएपछि एपीएफले १० रन हुँदा ३ विकेट गुमायो ।

त्यसपछि भुवन कार्की र सन्दीप जोराले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर ३२ रनको साझेदारीपछि भुवन कार्की नवौं ओभरमा आउट भए । भुवनलाई गुल्झन झाले विकेटकिपर दिलिप नाथबाट क्याचआउट गराए ।

१३औं ओभरको पहिलो बलमै ललित राजवंशीले सन्दीपलाई एलबीडब्लु गरेपछि एपीएफले ४७ रनमा ५ विकेट गुमायो ।

एपीएफको विकेट जाने सिलसिला रोकिएन । २०औं ओभरमा सुमित महर्जन ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । त्यसपछि सातौं विकेटका लागि अमर राउटेला र वसन्त रेग्मीले ३० रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए । तर २८औं ओभरमा अमर १८ रन बनाए रसागर ढकालको बलमा बोल्ड हुँदा एपीएफले सातौं विकेट गुमायो । वसन्त रेग्मी पनि त्यही ओभरमा एलबीडब्लु धरापमा परे ।

वसन्त आउट हुँदा एपीएफको अवस्था ९२-८ थियो । लगत्तै अर्को ओभरमा स्कोर ९२ रन नै हुँदा कमल ऐरी गुल्सन झाको बलमा अनिल शाहद्वरा क्याचआउट भएपछि एपीएफले नवौ विकेट गुमायो ।

अर्को ओभरमा अभिनाश बोहरा १२ रन बनाएर सागर ढकालको बलमा गुल्सन झाद्वारा क्याचआउट भए । एपीएफलाई सामान्य स्कोरमा अलआउट गर्न पुलिसका सागर ढकाल र गुल्सन झाले समान ४ विकेट लिए । सागरले ७.४ ओभर बलिङ गर्दै २८ रन मात्र खर्चिए । ७ ओभर नै बलिङ गरेका गुल्सनले ३६ रन खर्चिए ।

यस्तै पवन सर्राफ र ललति राजवंशीले किफायती बलिङ गर्दै समान १ विकेट लिए । पवनले ७ ओभरमा मेडन राख्दै २० रन खर्चिए भने ललितले ५ ओभरमा २ मेडन राख्दै जम्मा १० रन खर्चिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया