
काठमाडौं । नेकपा एमालेको शुक्रबारको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सहभागी भएको छ । बैठकमा वरिष्ठ नेता नेपाल सहभागी नभएपनि अधिकांश सांसदहरु सहभागी भएका थिए ।
पार्टीका मुख्य सचेतक विशाल भट्टराईका अनुसार बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई २०७५ जेठ २ गते भन्दा अघिको अवस्थामा लैजान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।
उनले त्यसका लागि यसअघिका बैठकले गरेका निर्णय खारेज गर्न माग गरेका थिए । त्यस्तै सांसदहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पार्टीलाई एकताबद्ध बनाएर लैजाने दायित्व प्रधानमन्त्रीको भएको भन्दै सबैलाई समेटेर लैजान आग्रह गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले फागुन २८, चैत पाँच र सात गतेका निर्णयबाट पछाडि जान नसकिने बताएका थिए ।
उनले अब पार्टीमा हरेक व्यक्तिका कुरा सुन्ने तर समूहगत र गुटगत रुपमा डिलिङ नगर्ने बताए । प्रधानमन्त्री ओलीले संसदीय दलबाट पारित गरेका विधान केन्द्रीय कमिटीबाट अनुमोदन गरेकाले अहिले तलमाथि गर्न नसक्ने बताए । बैठकमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण नकारात्मकरुपमा आएको भन्दै कारबाही गर्ने बताएका छन् ।
उनले दुई जनाको स्पष्टीकरण प्राप्त भएको र उहाँहरु कारबाहीको भागीदार हुने भएकाले आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय गर्ने बताएका थिए । बैठकमा प्रधानमन्त्रीले पार्टी जेठ दुईमा फर्किएको र माओवादी केन्द्रका २३ जना नेताहरु सरकार र पार्टीको पक्षमा उभिएकाले केन्द्रीय कमिटीमा मनोनित गरेको बताएका थिए । यसअघि शुक्रबारै बसेको माधव नेपाल पक्षको केन्द्रीय र सांसदहरुको बैठकले पार्टीभित्र संघर्ष गर्ने भन्दै बैठकमा जाने निर्णय गरेको थियो । यसअघिका संसदीय र केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष सहभागी भएको थिएन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया