
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभाजनकारी, अस्थिर र अवसरवादीका कारण एमाले र माओवादीबीच एकीकरण अभियान निष्कर्षमा पुग्न नसकेको दाबी गरेका छन् ।
२८ औं मदन आश्रित स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गरी अध्यक्ष ओलीले विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने तथा राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने इमान्दार प्रयास गरेपनि सो सफल नभएको बताएका हुन् ।
उनले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहन आफूहरू कृतःसंकल्पित रहेको पनि उल्लेख गरेका छन् । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय ढंगले निधन भएको थियो ।
दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएपनि जीप चालक अमर लामा भने जीवित थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । मदनकी श्रीमती विद्यादेवी भण्डारी हाल राष्ट्रपति रहेकी छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया