जनकपुरधाम । थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुने भएको छ । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुने भएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ ।
रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था पुगेर पुनः जयनगर फर्किने रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । झन्डै १० दिनसम्म रेल कुदाइने छ ।
१८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा थन्केकाले प्राविधिक स्थिति बुझ्नका लागि रेल गुडाउन लागिएको बताए । ‘रेलको प्राविधिक स्थिति बुझ्न दैनिक रेल गुडाउन लागेका छौं’ झाले भने, ‘कुनै प्राविधिक समस्या देखिए सुधार गर्छौं ।
यात्रुलाई बोक्नुअघि रेल दुरुस्त अवस्थामा राख्नकै लागि परीक्षण स्वरुप रेल गुडाउन लागिएको उनले बताए । यसबाहेक अतिक्रमण गरिएका रेल मार्गहरू छाड्न, अनाधिकृत बाटो बन्द गर्न, हाट लगाउन बन्द गर्नका लागि चेतना जगाउन, कर्मचारीलाई अभ्यस्त बनाउने उद्देश्यले पनि रेल गुडाउन लागिएको उनले बताए ।
थन्किएको रेल फागुनको दोस्रो साता विधिवत रुपमा उद्घाटन गर्ने तयारी भएको छ । यस सम्बन्धमा छलफल चलिरहेको र नेपाल तथा भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमले रेलको उद्घाटन गर्ने महाप्रबन्धक झाले बताए ।
रेल संचालनका लागि विभागले ५९ जना कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेको छ भने भारतबाट २६ जना कर्मचारीलाई बोलाइएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया