टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले टोकियोसहित ७ प्रान्तहरुमा कोरोनाभाइरस प्रकोप रोक्नको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।
टोकियोबाहेक छिमेकी कानागावा, साइतामा र चिबा, साथै ओसाका, ह्योगो र फुकुओका प्रान्तहरूमा भोली बुधबारदेखि लागू हुने गरी आपतकाल घोषणा गरेका हुन् । यो आपतकाल में ६ सम्म लागू हुने एनएचकेले जनाएको छ ।
प्रधानमन्त्री आबेले मंगलबार प्रधानमन्त्री कार्यालयमा सरकारको कोरोनाइरस टास्क फोर्सको बैठकमा उक्त घोषणा गरेका हुन । सोमबार आबेले जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको कारण जापानमा आपतकाल घोषणा गर्न लागिएको बताएका थिए । मंगलबार आपतकालको घोषणा गर्दै आबेले आधारभूत आर्थिक गतिविधि भने यो क्रममा पनि जारी रहने बताएका छन् । आपतकालमा पनि सार्वजनिक यातायात र सुपरमार्केटहरु खुला रहनेछन् । यो क्रममा मानिसहरुलाई घरमा नै बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ । जापानमा नयाँ संक्रमित देखिने क्रम बढेसँगै विशेषज्ञहरुले जापानमा उल्लेख्य मात्रामा भाइरस फैलिन सक्ने चेतावनी दिएसँगै जापानले आपतकाल घोषणा गर्ने निर्णय गरेको हो ।
आबेले त्यसपछि उनको क्याबिनेटलाई राष्ट्रिय संकटको यस समयमा जनताको जीवन र स्वास्थ्यको प्राथमिकताका साथ भाइरसलाई नियन्त्रण गर्न प्रिफेक्चुरल सरकारहरूसँग मिलेर काम गर्न निर्देशन दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया