गृहमन्त्रीले मविरुद्ध झुटा जाहेरी दिन लगाएर पक्राउ गर्न खोजे: बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको बताएका छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध भइरहेको आन्दोलनलाई कमजोर बनाउन आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको बताएका हुन् ।

‘मलाई गिरफ्तारी गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ,’ उनले भनेका छन्, ‘तीन वर्षअघि नै एउटा फेक व्यक्तिलाई अगाडि सारेर मेरो विरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो । उक्त जाहेरी प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भइसकेको छ, र सोही विषयमा उच्च अदालत पाटन मा दायर गरिएको रिट समेत अदालतले खारेज गरिसकेको छ । सोही बिषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको छ । यस्तो अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाई मलाई पक्राउ गर्ने योजना बनाएर मिडिया ट्रायल गरिँदैछ ।’

उनले आफूविरुद्ध जाहेरी दिन लगाउने काम गृहमन्त्री सुधन गुरुङले गरिरहेको आरोप लगाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया