काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।
शर्मामाथि एक नाबालिकालाई घरमा राखी बालश्रम गराएको तथा दुर्व्यवहार गरेको आरोप लागेको छ। यस विषयमा तयार गरिएको अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंबाट उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेको थियो।
घटनाको सुरुवात काठमाडौं महानगरपालिकाका प्रशिक्षार्थी विद्यार्थीहरूले गरेको सर्वेक्षणबाट भएको हो। सामुदायिक विद्यालयमा अध्ययनरत, अभिभावकसँग नबस्ने बालबालिकाबारे जानकारी संकलन गर्ने क्रममा ती नाबालिका श्रमशोषणमा परेको खुलासा भएको थियो।
पीडित नाबालिकाले करिब ६ वर्षदेखि शर्माको घरमा काम गर्नुपरेको र आफूमाथि कुटपिटसमेत हुने गरेको बयान दिएकी छन्। उनले घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्नुपरेको बताएकी छन्। साथै, लामो समयसम्म परिवारसँग भेटघाट गर्न नपाएको र दशैंजस्ता पर्वमा समेत घर जान नदिएको गुनासो गरेकी छन्।
महानगरपालिकाको टोली, नगर प्रहरी, वडाका प्रतिनिधि र नेपाल प्रहरीको संयुक्त उपस्थितिमा बालिकाको उद्धार गरिएको थियो। उद्धारपछि उनलाई संरक्षण गृहमा राखिएको छ। यस घटनापछि काठमाडौं महानगरपालिकाले सांसद शर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको थियो। साथै, बालिकाका अभिभावकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन समेत दर्ता गरेका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया